किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा
खोटाङ | मंसिर १७, २०८१
खोटाङ: यहाँको केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी पाकिसकेका छन् । १२ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गर्नुभएका राई जिल्लाकै पहिलो किबी किसान हुनुहुन्छ ।
सुरुका वर्षमा प्रति केजी रु चार सय सम्मले बिक्री गर्नुभएका उहाँले यसवर्ष बोटमै किबी पाकिसक्दा पनि टिप्नुभएको छैन । उहाँको फार्ममा करिब ४ हजार किलो किबी उत्पादन भएको अनुमान गरिएको छ ।
किबीका बेर्नासमेत उत्पादन गर्दै आउनुभएका राईले गत वर्ष मात्र रु १४ लाख बढीको बेर्ना बिक्री गर्नुभएको थियो । करिब २५ रोपनी जमिनमा किबी खेती गर्नुभएका राईले यस वर्ष बिक्री हुने सम्भावना नभएपछि ‘वाइन’, ‘हुस्की’, ‘जुस’ लगायतका पेयपदार्थ बनाउने तयारी गर्नुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका दोर्जी शेर्पाले करिब ६० रोपनीमा किबी खेती गर्नुभएको छ । एघार वर्षअघिदेखि किबी खेती सुरु गर्नुभएका शेर्पाको फार्ममा यसवर्ष ११ हजार केजीभन्दा बढी किबी फलेको छ ।
शेर्पाले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार, हलेसी, धरान, विराटनगर, काठमाडौँलगायतका ठाउँमा बिक्रीका लागि पु¥याउने गरिएको छ । जिल्लाका स्थानीय हाटबजार तथा पसलहरुमा प्रतिकेजी रु एक सयदेखि रु एक सय ५० सम्ममा किबी बिक्री भइरहेको छ ।
विगतमा फार्मबाटै बिक्री भएको किबी यसवर्ष आफैँले ढुवानी खर्च व्यहोरेर बिक्रीका लागि बजार पठाउने गरेको शेर्पाले बताउनुभयो । “मेरो फार्ममा ३ सय ७५ वटा वयस्क बोट छन् । एउटै बोटमा १ सय ५० केजीसम्म फलेको छ । दुईवटा बोटको मात्रै टिपेर बिक्री गरिरहेको छु”,
उहाँले भन्नुभयो, “यो वर्ष सबै बोटको किबी बिक्री हुने सम्भावना कम छ । गत वर्षमा बिक्री गरिएको ठाउँ (धरान, विराटनगर, काठमाडौँलगायत)मा सम्पर्क गरिरहेको छु । त्यहाँ पनि बजार छैन भन्दै आएका छन् । यदि, दाना बिक्री नभएको खण्डमा वाइन, जुस र माडा बनाएर बिक्री गर्ने सोचमा छु ।”
किबी बिक्री नहुने सम्भावना बढेपछि शेर्पा चिन्तित हुनुहुन्छ । किबी उत्पादनमा वृद्धि भए पनि प्रशोधन केन्द्र नहुँदा किसानले चाहेजस्तो आम्दानी गर्न नसकेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित शुभ कृषि फार्मका सञ्चालक शुभचन्द्र राई बताउनुहुन्छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मात्रै गत वर्ष १५ मेट्रिकटन उत्पादन भएकामा यो वर्ष बढेर ४० मेट्रिक टन भन्दा बढी उत्पादन भएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । गत वर्ष १५ मेट्रिकटन मात्र उत्पादन भए पनि यो वर्ष भने बोट वयस्क हुँदै गएपछि उत्पादनमा वृद्धि भएको हो ।
नगरपालिकाको सात हेक्टर खेतीयोग्य जमिनमा व्यावसायिक किबी खेती रहेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभयो । “किबी उत्पादन बर्सेनि बढ्दै जाने फल हो । जति वयस्क हुन्छ उतिनै उत्पादन पनि बढ्दै जान्छ ।
त्यही भएर यो वर्ष उत्पादनमा वृद्धि भएको हो”, उहाँले भन्नुभयो, “गत वर्ष दश मेट्रिकटन किबी किसानले बिक्री गरेका थिए । प्रति केजी रु एक सय ६० का दरले हिसाब गर्दा रु १६ लाख हुन आउँछ । यो वर्ष पनि रु १ सय ५० कै दरले अनुमान गर्दा ४० मेट्रिकटनको रु ६० लाख बराबरको हुन्छ ।”
नगरपालिकामा थप ३५ हेक्टरमा १५ हजार किबीको बिरुवा रोपिएको जनाइएको छ । यसमध्ये नगरपालिकाले सात हजार र जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन परियोजनाले आठ हजार बिरुवा किसानलाई निःशुल्क वितरण गरेको छ ।
फलफूल खेतीबाटै नगरवासीको समृद्धि हासिल गर्ने लक्ष्य लिइएकाले उत्पादन, प्रशोधन र बजारीकरणलाई जोड दिइएको नगर उपप्रमुख विशन राईले बताउनुभयो ।किबी लगायतका फलफूल प्रशोधन गर्न नगरपालिका–६ नेर्पाको तालखर्कमा रु एक करोडभन्दा बढीको प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाका अधिकांश लेकाली भेगमा बसोबास गर्ने किसानले पछिल्लो समय व्यावसायिक किबी खेती सुरु गरेका छन् । एउटै बोटबाट निरन्तर ५० वर्षसम्म उत्पादन दिने किबीको व्यावसायिक खेती सुरु गरेका किसान आफूले उत्पादन गरेका किबी बिक्री हुने छाडेपछि चिन्तित बनेका छन् ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

